काठमाडौँ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीनवटा चर्चित लोकगीतले समाजमा विकृति, अश्लीलता फैलाएको र सामाजिक सद्भाव भड्काएको भन्दै कानुनी कारबाहीको मागसहित प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।
आइतबार दिउँसो संस्थाका पदाधिकारीहरूले साइबर ब्युरोको कार्यालयमा उपस्थित भई औपचारिक रूपमा उजुरी दिएका हुन्। उजुरीमा परेका गीतहरूमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमारमा’ र रामजी खाँण तथा शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ छन्।
उजुरीमा विशेषगरी गीतमा अभिनय गर्ने कलाकारहरू तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउ तथा प्रस्तुतिले सामाजिक सद्भावमा खलल पुर्याएको दाबी गरिएको छ।
संस्थाले यस्ता विकृति र अश्लीलता फैलाउने गीतहरूलाई तत्काल नियन्त्रण गर्न माग गरेको छ। यसअघि शुक्रबार संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटेर यस्ता गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको थियो।