काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद राजन दाहालले नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीलाई 'अपहरण' गरेर बन्धक बनाएको आरोप लगाउँदै तत्काल वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन् । यद्यपि, उनले पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा फर्किंदा वाम एकताका लागि सकारात्मक वातावरण बन्न सक्ने सङ्केत गरे ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दाहालले एमाले ओलीको पकडबाट मुक्त नभएसम्म वामपन्थी शक्तिहरूबीच एकता हुन नसक्ने दाबी गरे । उनले भने, ‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभइकन वामपन्थीहरुबीच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’
उनले संविधानको रक्षा र कार्यान्वयनका लागि एमालेभन्दा नेपाली काँग्रेससँगको सहकार्य नै सापेक्षित रूपमा प्रगतिशील हुने तर्क गरे ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता दाहालले वर्तमान सरकारको कामकारबाहीप्रति पनि चर्को असन्तुष्टि व्यक्त गरे । सरकार जनताको नजरमा नरहेको र पूर्ण रूपमा असफल भइसकेको उनको दाबी थियो ।
सरकारको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले भने, ‘अङ्कगणितको हिसाबले यो सरकार छ, कानूनी हिसाबले पनि सरकार छ, तर जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ?’