काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आर्थिक गतिविधि बढाउने लक्ष्यसहित लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आज नीति सार्वजनिक गर्दै बजारमा देखिएको अधिक तरलता र कर्जाको घट्दो गुणस्तरको चुनौतीलाई सम्बोधन गर्न यो नीति ल्याइएको बताए।
नीतिले सर्वसाधारणलाई प्रत्यक्ष राहत दिँदै व्यक्तिगत आवास कर्जा (Personal Home Loan) को सीमा बढाएको छ। यसअघि २ करोड रुपैयाँ रहेको यस्तो कर्जाको सीमालाई बढाएर अब ३ करोड रुपैयाँ पुर्याइएको छ।
त्यस्तै, समग्र ब्याजदरलाई प्रभाव पार्ने ब्याजदर करिडोरलाई पनि साँघुरो पारिएको छ। ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ भने तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ। यसले बजारको ब्याजदरलाई थप स्थिर बनाउन र घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
गभर्नर पौडेलले अधिक तरलताका कारण उत्पन्न चुनौतीहरूलाई व्यवस्थापन गर्दै आर्थिक वृद्धिलाई प्रोत्साहन दिन लचिलो नीति आवश्यक परेको बताए।