काठमाडौँ ।
तारकेश्वर नगरपालिका-११ र काठमाडौँ महानगरपालिका-१६ को सिमानामा पर्ने महादेव खोलाको चौडाइलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको छ। खोला साँघुरो बनाएर पर्खाल लगाउन थालिएपछि दुई वडाका स्थानीयबीच ढुंगा हानाहानको स्थिति सिर्जना भएको हो।
विवाद बढ्दै गएर भिडन्तको अवस्था बनेपछि घटनास्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नगर प्रहरीको बाक्लो उपस्थिति गराइएको थियो। सुरक्षाकर्मीको उपस्थितिका बाबजुद पनि दुई पक्षबीच ढुंगा हानाहान हुँदा एक-दुई जना सामान्य घाइते भएका छन्। सुरक्षाकर्मीको तैनाथीले ठूलो झडप भने हुन पाएन।

के हो विवादको जड?
तारकेश्वर नगरपालिका-११ का वडाध्यक्ष कविराज बस्नेतका अनुसार उनीहरूको वडाले तीन वर्षअघि नै खोलाको १२ मिटर भाग छाडेर पर्खाल निर्माण गरी सडक कालोपत्रे गरिसकेको छ। तर, काठमाडौं महानगरतर्फ भने खोलालाई ६ मिटरमा सीमित गरी खोलाको बीच भागमै पर्खाल लगाउने काम सुरु भएपछि विवाद चर्किएको हो।
महानगरतर्फ खोला साँघुरो बनाउँदा त्यसको चाप तारकेश्वरतर्फ पर्ने र वर्षायाममा धेरैको घरजग्गा जोखिममा पर्ने स्थानीयको चिन्ता छ।

ठेकेदारमाथि खोला मिचेको आरोप
वडाध्यक्ष बस्नेतले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट ठेक्का (ठेक्का नं. DCOKTM/RW/079/80-11) पाएका ठेकेदारले आफ्नो व्यक्तिगत जग्गा बचाउन पैसाको बलमा खोला मिचेको गम्भीर आरोप लगाएका छन् ।। "कोरोना लकडाउनको समयमा पनि यो विषयमा विवाद भएको थियो। त्यसबेला नापी कार्यालय डिल्लीबजार र मनमैंजुबाट आएका प्राविधिकले नापेर १२ मिटर नै कायम गरिसकेका छन्," बस्नेतले भने, "हामीलाई कुनै जानकारी वा पत्राचार नगरी प्राधिकरणले एकलौटी रूपमा काम अघि बढाएको हो।"
स्थानीयको चर्को विरोध र तनावग्रस्त स्थिति बनेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले अन्ततः काम रोक्न निर्देशन दिएको छ। प्राधिकरणले पत्रमार्फत अर्को निर्णय नभएसम्मका लागि उक्त निर्माण कार्य रोक्न आदेश जारी गरेको हो। तत्कालका लागि काम रोकिए पनि खोलाको सिमाना विवादको दीर्घकालीन समाधान भने खोज्न बाँकी नै छ।