काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा सघन उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरेका छन्। यद्यपि, वीर अस्पताल प्रशासनले भने यसबारे औपचारिक सूचना सार्वजनिक गरिसकेको छैन ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगलागीका कारण नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर चोट पुगेको थियो । अस्पताल ल्याइएपछि श्वासप्रश्वासमा जटिलता देखिएकाले तत्काल इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठसहित नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी २१ सदस्यीय चिकित्सक टोली परिचालन गरिएको थियो ।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनापछि तत्काल उद्धार गरी उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।