काठमाडौँ।
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहको शिलान्यास छिट्टै गरिने बताएका छन् । आज निर्माण स्थलको स्थलगत अवलोकन गर्दै उनले बन्दरगाह निर्माणको ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै शिलान्यास गरेर काम अघि बढाइने जानकारी दिए ।
"बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ, अब छिट्टै शिलान्यास हुन्छ," गृहमन्त्री लेखकले भने, "निर्माण सुरु भएको तीन वर्षभित्र यो परियोजना सम्पन्न हुनेछ ।"
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुवै देशले निर्माणको तयारीलाई तीव्रता दिएका छन् । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा टेन्डर आह्वान गरी निर्माण कम्पनी समेत छनोट गरिसकेको छ ।
इन्टर मोडल यातायात विकास समितिका अनुसार, बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४२।३६ हेक्टर क्षेत्रफल प्रयोग हुनेछ । सो क्षेत्रमा रहेका एक हजार पाँच सय ९३ रुख कटानको काम सम्पन्न भइसकेको छ । निर्माण हुने पूर्वाधारहरूमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन (इमिग्रेसन) भवन र सुरक्षा भवन लगायतका संरचना रहनेछन् ।
नेपाल सरकारले आफ्नो तर्फबाट बन्दरगाहसम्म पुग्ने छ लेनको पहुँच मार्ग निर्माण गरिसकेको छ भने महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पनि सञ्चालनमा आइसकेको छ । यो बन्दरगाह निर्माण सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकास तथा भारतसँगको व्यापारमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।