काठमाडौँ ।
नेपालमा पछिल्लो समय कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार गएको करिब ६ महिनाको अवधिमा देशका ३१ जिल्लामा संक्रमण फैलिएको छ।
महाशाखाको तथ्याङ्कअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म कुल २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो एक हप्तामा मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण देखिएको छ। यस अवधिमा कोभिड–१९ का कारण एक जनाको मृत्युसमेत भएको छ।
संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका प्रयासहरूलाई तीव्र बनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका १७ वटा सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाइएको छ। "सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ को आरडिटी विधिबाट परीक्षण भइरहेको छ," उनले भने।
मन्त्रालयले आम नागरिकलाई कोभिड–१९ लगायत श्वास–प्रश्वासबाट सर्ने अन्य रोगबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ। मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ। साथै, कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिलाई ‘सेल्फ क्वारेन्टाइन’ वा ‘आइसोलेसन’मा बस्न पनि मन्त्रालयले सुझाएको छ।