काठमाडौँ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको विनयी खोलामा आएको बाढीले गए राति एक यात्रुवाहक बस बगाएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसलाई बाढीले बगाए पनि त्यसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार, काठमाडौँबाट छुटेको भे१ख ४०८५ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाइभर्सन पार गर्ने क्रममा एक्कासी आएको बाढीमा परेको थियो।
"नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको हो," प्रहरी निरीक्षक तिमिल्सेनाले भने, "घटनालगत्तै तत्काल एक्साभेटरको सहयोगमा बसमा सवार सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।"
बसमा तीन शिशुसहित कुल ३८ जना यात्रु रहेका थिए। उद्धार गरिएका यात्रुहरू सुरक्षित छन्, तर उनीहरूको सामान के-कति क्षति भयो भन्नेबारे यकिन हुन सकेको छैन।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध
रातभरि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव नघटेकाले बाढीले बगाएको बस निकाल्न सकिएको छैन। साथै, दाउन्ने सडकखण्ड पनि हिलाम्य भएकाले सवारीसाधन गुड्न नसक्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले राजमार्ग अवरुद्ध भएकाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। बर्षायाम लागेसँगै खोलामा आउने बाढीले डाइभर्सन पटक–पटक बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। यसले गर्दा यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ भने यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ।