काठमाडौँ,असार ५ ।
आज जुन १९, द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। द्वन्द्वकालीन यौन हिंसाका पीडितले अझै न्याय नपाएको र पीडकले उन्मुक्ति पाइरहेको अवस्थामा यो दिवसले न्याय र जवाफदेहिताको मागलाई पुनः एकपटक उजागर गरेको छ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१५ देखि हरेक वर्ष जुन १९ मा यो दिवस मनाउन सुरु गरेको हो। यसको मुख्य उद्देश्य द्वन्द्वको समयमा हुने यौन हिंसा अन्त्य गर्न, पीडितको सम्मान गर्न र यस्ता अपराधविरुद्ध विश्वव्यापी ऐक्यबद्धता जनाउनु हो। द्वन्द्वकालीन यौन हिंसा भन्नाले युद्धसँग सम्बन्धित बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, र मानव बेचबिखनजस्ता गम्भीर अपराधलाई बुझाउँछ, जसले पीडितलाई शारीरिक र मनोवैज्ञानिक रूपमा गहिरो र दीर्घकालीन आघात पुर्याउँछ।
नेपालमा विस्तृत शान्ति सम्झौता भएको डेढ दशक बितिसक्दा पनि द्वन्द्वकालीन यौन हिंसाका पीडित न्यायबाट वञ्चित रहेको राष्ट्रिय मानवअधिकार आयोगले बताउँदै आएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यौनजन्य हिंसाका ३१४ उजुरी दर्ता भए पनि डर, लाज र सामाजिक अपहेलनाका कारण धेरै घटना बाहिर आउन नसकेको अधिकारकर्मीहरूको भनाइ छ।
यस दिवसको अवसरमा अधिकारकर्मीहरूले दण्डहीनताको अन्त्य गर्दै पीडितले पाउनुपर्ने सत्य, न्याय र सम्मानजनक परिपूरणको प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई पुनः दबाब दिएका छन्।