काठमाडौँ,असार ०३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने हिंसा प्रकरणमा बयान दिन काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्।
मिश्रविरुद्ध गत जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो। अदालतमा उपस्थित भएका मिश्रको आजै थुनछेक बहस हुनेछ। बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी/साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश दिनेछ।
यसअघि सोही घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए। उनलाई अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो। सो घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएर भीडलाई उक्साएको आरोप छ।
यस घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ।