काठमाडौँ, जेठ ३१ ।
इरानले इजरायलमाथि सयौँ ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरी जवाफी हमला गरेको छ। शनिबार राति भएको यो हमला इजरायलले आफ्ना सैन्य कमान्डर र परमाणु वैज्ञानिकहरूलाई लक्षित गरी गरेको आक्रमणको बदलामा भएको इरानले जनाएको छ।
यस हमलासँगै इरानले अमेरिका, बेलायत र फ्रान्सलाई पनि चेतावनी दिएको छ। इरानी हमलालाई रोक्न वा इजरायललाई सहयोग गरेमा उनीहरूका सैन्य अखडामा पनि आक्रमण गर्ने धम्की दिइएको छ। अमेरिकी र फ्रान्सेली सेनाले इरानी ड्रोन र मिसाइलहरूलाई आकाशमै रोक्न इजरायललाई सहयोग गरेको समाचारहरूमा जनाइएको छ।
इरानी हमलाका कारण इजरायलको तेल अभिभ लगायतका शहरमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले अधिकांश हमलालाई आफ्नो एयर डिफेन्स सिस्टमले विफल पारेको दाबी गरे पनि केही मिसाइलहरूले भौतिक संरचनामा क्षति पुर्याएका छन्।
यो तनावको सुरुवात इजरायलले इरानमाथि गरेको 'अपरेसन लायन' नामक हमलाबाट भएको थियो, जसमा इरानका इस्लामिक रिभोलुसनरी गार्ड कोरका शीर्ष कमान्डर र प्रमुख परमाणु वैज्ञानिकसहित ८० जनाभन्दा बढीको मृत्यु भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको परमाणु कार्यक्रम निष्क्रिय नभएसम्म हमला जारी राख्ने बताएपछि मध्यपूर्वमा तनाव चरम विन्दुमा पुगेको छ।