काठमाडौँ, जेठ ३१ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भ्रष्टाचारको मुख्य जड भएको बताउँदै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली अपनाउन आवश्यक रहेको औंल्याए।
शनिबार काठमाडौंमा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणाली’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन्। उनले विश्वमा पार्टी र उम्मेदवार दुवैले पैसा खर्च गर्न नपर्ने ७१ प्रकारका निर्वाचन प्रणाली प्रचलनमा रहेको उल्लेख गर्दै नेपालले पनि त्यस्तै मोडेल अपनाउनुपर्ने बताए।
वर्तमान प्रणालीको आलोचना गर्दै उनले भने, “हाम्रो जस्तो विपन्नता भएको मुलुकमा यो खालको निर्वाचन प्रणाली दरिद्र भएको छ, यसले भ्रष्टाचार बढाउने बाटो खोलेको छ।” उनले नेपालका प्रधानमन्त्रीहरू देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्र हुने गरेको र स्रोत-साधन त्यहीँ केन्द्रित गर्ने प्रवृत्तिको पनि आलोचना गरे।
अध्यक्ष यादवले देशमा देखिएको राजनीतिक अस्थिरताको एकमात्र कारण मन्त्री पदको लोभ रहेको दाबी गरे। “आजसम्म जति पनि राजनीतिक अस्थिरता भएको छ, त्यो सबै मन्त्रीका लागि भएको छ,” उनले भने, “संसदबाट ‘मन्त्री’ भन्ने शब्द हटाइदिने हो भने सांसदहरूको खरिद-बिक्री नै बन्द हुन्छ। अहिले त खसी-बोकाको भाउ होला, तर सांसदहरूको भाउ छैन।”
उनले मन्त्री बन्ने दौडकै कारण दलहरू फुट्ने र राजनीतिक अस्थिरता निम्तिने गरेको भन्दै देशको समग्र हितका लागि निर्वाचन प्रणालीमै आमूल परिवर्तन आवश्यक रहेको निष्कर्ष सुनाए।