काठमाडौँ,जेठ ३१ ।
दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको छ। उद्धारकर्ताहरूले शनिबार पनि खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित क्षेत्रको भ्रमण गर्दै जलवायु परिवर्तनका कारण देशले यस्ता विनाशकारी प्रकोपहरूको सामना गरिरहेको बताएका छन्। हरित जलवायु कोषले पनि दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशमध्ये एक भएको जनाएको छ।
भारी वर्षाका कारण पूर्वी केपका केही स्थानमा पानीको सतह चार मिटरसम्म पुगेको अनुमान गरिएको छ। बाढीले हजारौं घर, सडक, विद्यालय र स्वास्थ्य संस्थाहरूमा क्षति पुर्याएको छ। रंगभेदविरोधी नेता नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै रहेको माथाथा सहर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ।
उद्धारकर्ताहरूले रातको समयमा घरभित्र फसेका मानिसहरूको शव निकाल्नुका साथै जीवितहरूको उद्धार कार्यलाई तीव्रता दिएका छन्। मृतकहरूमध्ये कम्तीमा ६ बालबालिका र तीन वयस्क सवार एक स्कुल बस बाढीले बगाएको थियो। शनिबार रुखमा अड्किएर बसेका तीन विद्यार्थीको उद्धार गरिएको छ भने अन्य चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।