काठमाडौँ,जेठ २९ ।
काठमाडौंको अति व्यस्त सडक थापाथली चोकमा बिहीबार बिहान ड्युटीमा खटिएकी एक ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिँदा घाइते भएकी छन्। घाइते हुनेमा ट्राफिक प्रहरी जवान वर्षा शाह रहेकी छन् र उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार, त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको बा १ घ ४१८८ नम्बरको टेम्पोले चोकमा आफ्नो ड्युटी सम्हालिरहेकी शाहलाई ठक्कर दिएको हो।
"बिहान ड्युटीमा खटिएकी जवान शाहलाई टेम्पोले ठक्कर दिएको हो। उनलाई उपचारका लागि तुरुन्तै नर्भिक अस्पताल लगिएको छ," एसपी गिरीले भने।
प्रहरीले ठक्कर दिने टेम्पो र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। थापाथली चोक राजधानीको सबैभन्दा व्यस्त चोकहरू मध्ये एक हो जहाँ सवारी साधनको चाप सधैँ उच्च रहने गर्दछ।