काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यस घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई राज्य सञ्चालन, सामाजिक उत्तरदायित्व र नागरिकप्रतिको संवेदनशीलताको दृष्टिले आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्।
उनले एउटा नागरिक आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्न आवश्यक रहेको उल्लेख गरे। राज्यका सेवा, संयन्त्र र नीतिले नागरिकलाई आड, भरोसा र सुरक्षा दिन नसके यस्ता दुःखद घटना दोहोरिन सक्ने भन्दै त्यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरे।
थापाले समाज, परिवार, राज्य र नागरिक सबैले आफ्नो भूमिका आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिँदै भविष्यमा कुनै पनि नागरिक निराशाको चरम अवस्थामा पुगेर यस्ता कदम चाल्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।