एजेन्सी । एक सातायता
आएको भीषण आँधी र बाढीका कारण ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली
टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले
हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा
राखिएको छ ।
प्रतिघण्टा १६२
किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर
भाग हुँदै अघि बढ्ने र त्यसपछि शनिबार राति चीनको फुजियान र झेजियाङ प्रान्तको
सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसअघि यसले साइपनसहित
प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा
गराएको थियो ।
ताइवानमा भारी वर्षाको
पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् । उत्तरी तटमा माछा
मार्ने डुंगाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन्
।
चीनको झेजियाङ
प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक लाख
७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी
समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फुजियान प्रान्तले
तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण केही जलमार्ग सेवा स्थगित गर्नुका साथै
सबै माछा मार्ने डुंगालाई बन्दरगाह फर्किन निर्देशन दिएको छ ।
यसअघि दक्षिणी चीनमा
आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा
३९ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । अत्यधिक वर्षाले जलाशयहरू
फुटेका थिए भने हेङ्झाउस्थित बाँधको एक भाग भत्किएपछि ठूलो क्षेत्रमा बाढी फैलिएको
थियो । धेरै मानिसहरू भवनका माथिल्ला तलामा दिनौँसम्म फसेका थिए र विद्युत सेवा
समेत अवरुद्ध भएको थियो ।
यस्तै, मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति
आएको भीषण आँधीका कारण थप ११ जनाको मृत्यु भएको थियो ।
यसैबीच, पश्चिमी चीनको गान्सु प्रान्तमा मंगलबार
आएको भूस्खलनमा २१ जना वनकर्मीको मृत्यु भएको छ । उक्त घटना टाइफुनसँग प्रत्यक्ष
सम्बन्धित नभए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको जनाइएको छ ।