काठमाडौँ।
सरकारले १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन बमोजिम ती कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।
कालोसूचीमा पर्ने चर्चित कम्पनीहरूमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको 'महादेव खिम्ती निर्माण सेवा' र सुमित रौनियारको 'पप्पु कन्स्ट्रक्सन' बीचको संयुक्त उपक्रम (पप्पु–महादेव जेभी) रहेका छन्, जसलाई ३ वर्षका लागि प्रतिबन्ध लगाइएको छ। यस्तै, श्रेष्ठ कन्स्ट्रक्सन (हेटौंडा) लाई पनि ३ वर्षकै लागि कालोसूचीमा राखिएको छ।
अन्य प्रतिबन्धित कम्पनीहरूमा ग्लोबल ड्रग्स सप्लायर्स, भारत–सिद्धसाई जेभी, लुम्बिनी मोटर्स, हीरा नेपाली निर्माण सेवा, मयुमी कन्स्ट्रक्सन र शुभम् निर्माण सेवा रहेका छन्। हुलाकी राजमार्ग निर्देशनालय र विभिन्न स्थानीय तहको सिफारिसमा यी कम्पनीहरूमाथि कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सरकारी खरिद, ठेक्का वा निर्माण प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
