काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको
कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी
गरेको छ ।
बागमती प्रदेशका
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल
सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ,
दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण
सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।
यही असार मसान्तभित्र
साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी
दिए । ‘असारको २७ गतेदेखि मसान्तसम्म साना
बचतकर्तालाई रकम फिर्ता गर्ने योजना बनाइएको छ, अहिले
बचतकर्ताको विवरण ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ,’ उनले भने
।
बचतकर्तालाई रकम
फिर्ता गर्न करिब नौ करोड जम्मा भइसकेको छ । ती सहकारीका साना बचतकर्ताहरूलाई
अनामनगरस्थित समितिका कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
समितिले सिभिल, सुमेरु, लालीगुराँस र
नमोबुद्ध सहकारीका बचतकर्ताका एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १०
हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन
हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।
समितिले गत जेठ २२ गते
समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीहरूको नामावली
सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।