काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रमा बाटो हिँड्ने मानिसहरूलाई अनावश्यक दुःख–हैरानी गरेकाे आरोपमा प्रहरीले पाँच जना विदेशी महिलालाई पक्राउ गरेको छ।
मङ्गलबार राति ठमेलको सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई जथाभाभी रोकेर अश्लील गतिविधि (मोलमोलाइ) गरी दुःख दिएको आरोप उनीहरूमाथि लागेको छ।
पक्राउ पर्नेहरू को-को हुन्?
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार पक्राउ परेका विदेशी महिलाहरूमा युगाण्डाका ४ जना र इन्डोनेसियाकी १ जना महिला पर्यटक पक्राउ परका छन् ।
प्रहरीमाथि नै हातपात
उक्त क्षेत्रमा शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रहरी वृत्त लैनचौरको टोली घटनास्थल पुगेको थियो। सुरुमा प्रहरीले उनीहरूलाई सम्झाई-बुझाई गर्ने प्रयास गरेको थियो । तर, उनीहरूले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि जथाभाभी गालीगलौज गर्नुका साथै धक्का-मुक्का (हातपात) समेत गरेका थिए ।
नेपाल प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार हाल उनीहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।