बालबालिकालाई पार्टी सदस्यता दिएको बारे रास्वपाले स्वीकार्‍यो त्रुटि, तथ्यांक व्यवस्थापन र विश्वसनीयतामाथि प्रश्न

Author

सजिलो पत्रिका

२०८३ असार १७, बुधबार

2
Share
Featured

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा सार्वजनिक गरिएको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको तथ्याङ्कलाई ‘प्राविधिक त्रुटि’ र ‘कच्चा आवेदन विवरण’ को परिणाम भएको भन्दै स्पष्टीकरण दिएको छ। तर, पार्टीले आधिकारिक प्रतिवेदनमै अप्रमाणित तथ्याङ्क समावेश गरेको स्वीकार गरेपछि यसको तथ्याङ्क व्यवस्थापन, आन्तरिक प्रमाणीकरण प्रक्रिया र संस्थागत विश्वसनीयतामाथि प्रश्न उठेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउनु कानुन र बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने भन्दै स्पष्टीकरण माग गरेपछि रास्वपाले विस्तृत विज्ञप्ति जारी गरेको हो।

पार्टीका अनुसार महाधिवेशनमा प्रस्तुत तथ्याङ्क प्रमाणित सदस्यताको अभिलेख नभई एप तथा वेबसाइटमार्फत दर्ता भएका प्रारम्भिक आवेदनको समष्टिगत विवरण मात्र थियो। आवेदकले आफैं विवरण भर्ने क्रममा वि.सं. र ई.सं. पात्रोको गलत छनोट, जन्ममिति प्रविष्टिमा त्रुटि तथा हालको मिति जन्ममितिका रूपमा राखिएका कारण केही व्यक्तिको उमेर १८ वर्षभन्दा कम देखिएको दाबी गरिएको छ। 

रास्वपाले हालसम्म ५ लाख २३ हजार ४६५ आवेदनमध्ये ३ लाख ९० हजार ११२ सदस्यको मात्र आधिकारिक प्रमाणीकरण सम्पन्न भएको र बाँकी आवेदन परीक्षणकै चरणमा रहेको जनाएको छ। साथै, पर्याप्त परीक्षण नगरी कच्चा तथ्याङ्क सार्वजनिक प्रतिवेदनमा समावेश भएको स्वीकार गर्दै त्यसबाट भ्रम सिर्जना भएकोमा दुःख व्यक्त गरेको छ।

यद्यपि, राजनीतिक दलको सर्वोच्च नीति निर्माण गर्ने महाधिवेशनमा प्रस्तुत आधिकारिक प्रतिवेदनमै अप्रमाणित तथ्याङ्क समावेश हुनु सामान्य प्राविधिक कमजोरी मात्र हो वा संस्थागत लापरबाही भन्ने प्रश्न उब्जिएको छ। तथ्याङ्क सार्वजनिक गर्नुअघि आधारभूत प्रमाणीकरणसमेत नगर्नु, प्रारम्भिक आवेदन र आधिकारिक सदस्यताको तथ्याङ्कबीच स्पष्ट भिन्नता नदेखाइनु तथा त्यसको पुष्टि आयोगको चासोपछि मात्र गरिनुले पार्टीको आन्तरिक डेटा व्यवस्थापन प्रणालीमाथि थप प्रश्न खडा गरेको छ।

विवादपछि रास्वपाले अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदन स्वतः रोक्ने, प्रमाणीकरण भएका अभिलेख पुनः परीक्षण गर्ने, त्रुटिपूर्ण सदस्यता खारेज गर्ने तथा सम्पूर्ण तथ्याङ्क पुनः प्रमाणीकरण गरेर अद्यावधिक विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ आज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज बिहान ११ बजे वनस्थलिस्थित पार्टी कार्यालयमा हुने भएको छ । असार ७ गते सुरु भएको महाधिवेशन सहमतिको प्रयासका कारण निर्धारित अवधिभन्दा तीन दिन लम्बिँदै ६ दिनमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ९९ जना केन्द्रीय

    Data is loading...

    Loading brands...

    Loading footer...