काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रमुख सचेतक युवराज दुलालले अतिविशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सुरक्षाबाहेक अन्य व्यक्तिगत काममा लगाउन नहुने बताएका छन्। भिभिआइपी सुरक्षाको स्पष्ट मापदण्ड पालना हुनुपर्नेमा जोड दिँदै उनले सुरक्षाकर्मीको दुरुपयोग रोक्न आग्रह गरेका हुन्।
दुलालले भिभिआइपीहरूलाई व्यक्तिगत सहयोग आवश्यक पर्ने भए पनि उनीहरूको लगेज बोक्ने वा व्यवस्थापन गर्ने काम सहयोगीहरूले गर्नुपर्ने बताए। "सुरक्षाकर्मीलाई सुरक्षा बाहेक अरू काम लगाउन हुँदैन र मिल्दैन," उनले भने, "कोर सुरक्षा घेरामा रहने सुरक्षाकर्मीले व्यक्तिगत झोला वा गैरसुरक्षा सामग्री बोकेर हिँड्नु सुरक्षा सिद्धान्त विपरीत हो।"
उनले नेपालमा जुनसुकै पार्टीका नेताहरूले पनि सुरक्षाकर्मीलाई प्रायः दुरुपयोग गरिरहेको उल्लेख गर्दै अब त्यस्तो नगर्न र अन्जानमा गल्ती भएको भए स्वीकार गर्न समेत सुझाव दिएका छन्। सुरक्षाकर्मीको काम केवल सुरक्षा प्रदान गर्नु मात्र हुनुपर्ने र उनीहरूलाई व्यक्तिगत कामदारका रूपमा प्रयोग गर्न नहुने उनको स्पष्ट धारणा छ।