काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक क्षेत्रमा सुशासन कायम गर्दै सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँग आज भएको भेटमा प्रधानन्यायाधीश शर्माले न्यायपालिकालाई सुधार गर्दै न्याय प्रणालीप्रति जनताको विश्वास बढाउन सबै सरोकारवालासँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। देशको सर्वोच्च अदालतको प्रमुखको रूपमा भर्खरै जिम्मेवारी सम्हालेका प्रधानन्यायाधीश शर्माले भन्नुभयो स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय दिने तथा सुशासन कायम गर्ने नागरिकको अपेक्षा मेरो कार्ययोजनामा समावेश गरिएको छ।
आफुले उक्त जिम्मेवारी अनपेक्षित रूपमा पाएको र ठोस कार्यमार्फत आफ्नो प्रतिबद्धता प्रमाणित गर्न प्रतिबद्ध रहेको पनि उहांले बताउनुभएको छ।प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा कार्ययोजनालाई आधार बनाएर न्यायिक क्षेत्रमा सुधार अगाडि बढाउने बताउनुभयो। उक्त योजनाले संस्थागत सुधारका मुख्य क्षेत्रहरू समेटेको छ।
भेटमा मञ्चका अध्यक्ष कालिका खड्का, पूर्वअध्यक्ष तथा पदाधिकारीहरू याम बिरही, लीलाधर उपाध्याय, दुर्गा दुलाललगायतले नवनियुक्त प्रधानन्यायाधीशलाई न्यायिक प्रणालीलाई अझ सुदृढ बनाउने विषयमा सुझाव दिनुभएको थियो।
न्याय सम्पादन निष्पक्ष, पहुँचयोग्य र समयमै हुनुपर्ने तथा नागरिकले वास्तवमै कानूनी शासनको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उहांहरुको जोडरहेको छ।