खोटाङ, ७ जेठ I
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ ।
नेपालखेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बुद्धिचाल सङ्घ खोटाङको संयोजनमा आयोजना गरिएको प्रतियोगितामा देशभरका ५१ खेलाडीले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगदसहित पुरस्कार वितरण गर्नुभएको हो ।
जेठ ३ गतेदेखि सुरु भएको ६ दिने महोत्सवअन्तर्गत पहिलो दिन दौड प्रतियोगिता भएको थियो भने जेठ ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा बृहत् साहित्यिक महोत्सव आयोजना गरिँदैछ । करिब ३० लाख १३ हजार रुपैयाँको लागतमा सञ्चालित यस महोत्सवको उद्घाटन अवसरमा पत्रकार सविना अछामे परियारलाई नगद रु ११ हजार १११ सहित पुरस्कृत समेत गरिएको छ ।