काठमाडौँ गत चैत ३ गते प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६, लुङ निवासी १९ वर्षीय मधु सुनारको भीरबाट लडेर मृत्यु भयो। उनको शव स्थानीय फेरा सामुदायिक वनको खोल्सामा फेला परेको थियो। साथीहरूसँग रमाउँदै बिहान सबेरै घरबाट वनभोजका लागि निस्केका मधुका लागि त्यही वनभोज नै अन्तिम बन्न पुग्यो।
मधुको हत्या आरोपमा ५ जनामाथि अनुसन्धान
वनभोज स्थलमा सामान्य विवाद भएपछि मधुलाई त्यहाँ रहेका अन्य युवाहरूको समूहले लखेटी-लखेटी भीरबाट खसालेर हत्या गरेको परिवारको आरोप छ।
घटनालगत्तै सक्रिय भएको प्रहरीले मृतक मधुकी आमाले दिएको किटानी जाहेरीका आधारमा ५ जना स्थानीय युवाहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले हाम्रो सजिलो पत्रिकालाई दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा केशव के.सी. (४२ वर्ष), गोविन्द घर्ती (३० वर्ष), नरेन्द्र के.सी. (२६ वर्ष), बसन्त बहादुर घर्ती (३१ वर्ष) र युवराज के.सी. (१९ वर्ष) रहेका छन्।
प्रहरी निरीक्षक भट्टराईले सजिलो पत्रिकाकी सम्पादक सुस्मिता सुनारसँग कुरा गर्दै भने,'' घटनाबारे अनुसन्धान भइरहेको छ। अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि घटनाबारे थप तथ्यहरू खुल्नेछन्। उनका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पक्राउ परेकाहरूमाथि थप कानुनी मुद्दा अगाडि बढाइनेछ। हाल अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पोस्टमार्टम रिपोर्ट आउन बाँकी
मधुलाई योजनाबद्ध रूपमा लखेटेर भीरबाट खसाली ज्यान लिइएको परिवारको आरोप भएपनि प्रहरीले पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको बताएको छ। सूचना अधिकारी भट्टराईका अनुसार रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुनेछ। प्रहरीले घटनाको हरेक कोणबाट निष्पक्ष छानबिन भइरहेको आश्वासन दिएको छ।
१४ महिनामै उज्रियो मायाको सिउँदो
मृतक मधु सुनारको परिवार यतिबेला गहिरो शोक र पीडामा डुबेको छ। जम्मा १४ महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएकी मायाको कलिलो उमेरमै सिउँदो पुछिएको छ। आफूलाई एक्लो बनाएर संसारबाटै बिदा भएका श्रीमान्को न्यायका लागि उनले रुँदै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेकी छिन्।