काठमाडौँ - धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको लाम्पाटामा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन् । बुधबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै हमालले आफ्नो टोलीले त्यहाँ ड्रोन उडाएका कारण घटना नघटेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् ।
‘ड्रोन उडाएर लाम्पाटामा घटना घट्यो भनिएको छ, त्यो गलत हो । प्रहरी प्रशासनबाट जुन सूचना दिइएको छ त्यो गलत छ,’ उनले भने ।
घटना जेठ २ गते नै घटिसकेको उनले दाबी गरे । ‘२ गते नै वडा सदस्यलाई पिटेर मर्ने हालतमा पुर्याएर उसलाई उपचारका लागि पनि जान दिइएको थिएन । कब्जा गरेर राखिएको थियो,’ उनले भने । उनको घर र रासन सबै कब्जा गरिएको उनले दाबी गरे ।
तर, त्यो विवादबारे आफूलाई पूर्वसूचना नभएको उनले बताए । उनले अगाडि भने, ‘हामी ५ गते मात्रै पुगेको हो त्यहाँ, हामी पुग्नुभन्दा अगाडि त हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई पिटिसकेका थिए । त्यहाँको अरु कर्मचारीलाई पिटिसकेका थिए । मोबाइल खोसिसकेका थिए ।’
ड्रोन उडाएर घटना भयो भन्नु हाँस्यास्पद रहेको उनले दाबी गरे ।