काठमाडौँ : नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउन तीनवर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ।
योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ। मंगलवार प्रहरी प्रधान कार्यालयमा सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारी र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाई प्रहरी सेवाको डिजिटलीकरणलाई तीव्रता दिने योजना छ। प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका
रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ। रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना केवल कागजी दस्तावेज नभई संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताए। उनले रणनीतिक योजनाको सफल कार्यान्वयनका लागि संगठनको जवानदेखि माथिल्लो दर्जासम्मका सबै कर्मचारीको समान जिम्मेवारी रहने बताए।
उनले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशन दिए।
कार्कीले भने, ‘नेपाल प्रहरीको रणनीतिक योजना प्रहरी जवानदेखि आइजीपीसम्मको सामूहिकताको प्रतिफल हो। यसलाई नागरिक केन्द्रित बनाउन हामी सबै लाग्नुपर्छ। त्यसैले यो संगठनलाई समयानुकूल बनाउन टेवा पुग्नेछ भन्ने विश्वास छ। यो चाहना नागरिक तहबाट व्यक्त भएको छ।’
आईजीपी कार्कीले नागरिक तहबाट व्यक्त अपेक्षानुसार प्रहरी सेवाको सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए।