काठमाडौँ
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रका विकास, पूर्वाधार र समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टीका संग्रौला (ज्वाला)ले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजधानी र दुर्गम क्षेत्रबीचको असमानता उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा भइरहँदा कर्णालीमा बिरामीलाई डोकामा बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । साथै, सहरमा अवसरको बहस चलिरहँदा मधेसका युवाहरू बेरोजगारीमा संघर्ष गरिरहेको र सुदूरपश्चिमका पहाडहरू विकासको प्रतीक्षामा रहेको उहाँको भनाइ थियो ।
सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषामा प्रस्तावित डेडिकेटेड ट्रमा सेन्टरको काम अघि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, सांसद जगत प्रसाद जोशीले सडक, स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधार विकास समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यसैगरी, अन्य सांसदहरूले पनि कला, संस्कृति संरक्षणदेखि स्थानीय विकास निर्माणसम्मका विषय उठाउँदै सरकारलाई विभिन्न समस्या समाधान गर्न आग्रह गरेका छन् ।