काठमाडौँ
‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सुरु भएको वाग्मती सफाइ महाअभियान १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते बागमती नदीलाई स्नानयोग्य बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियान हालसम्म निरन्तर सञ्चालन हुँदै आएको छ ।
महाअभियानका अनुसार हालसम्म बागमती नदीबाट २२ हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको छ भने करिब १५ लाखभन्दा बढी स्वयंसेवकले नदी सरसफाइमा सहभागिता जनाएका छन् । अभियानअन्तर्गत प्रत्येक शनिबार बिहान नियमित रूपमा विभिन्न स्थानमा सफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
अभियानले काठमाडौँ उपत्यकासहित देशभरका १०० भन्दा बढी स्थानमा सरसफाइ गतिविधि विस्तार गरेको छ । उपत्यकामा मात्र २५ भन्दा बढी स्थानमा नदी तथा खोला सफाइ भइरहेको जनाइएको छ । अभियानको प्रभावले देशका अन्य सहर र नदीहरूमा पनि सरसफाइ अभियान फैलिएको छ ।
अभियानकर्मीहरूले स्थानीय सरकारको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै थप प्रभावकारी व्यवस्थापनको माग गरेका छन् । १४ औँ वर्ष प्रवेशको अवसरमा बानेश्वर क्षेत्रको बागमती किनारमा सरसफाइसँगै वृक्षारोपण कार्यक्रमसमेत गरिएको छ ।