ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् सेवासम्बन्धी गुनासोको तत्काल सुनुवाइ र समाधान गर्ने उद्देश्यले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जामन्त्री
विराजभक्त श्रेष्ठले पदभार सम्हालेपछि ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू सक्रिय बनेका हुन् ।
मन्त्रालयका अनुसार चौबिसै घण्टा सञ्चालनमा रहने हटलाइन अब गुनासो दर्तामा मात्र सीमित नरही समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको छ । फोन, ह्वाट्सएप, इमेल र हेलो सरकारमार्फत आएका गुनासोलाई सम्बन्धित निकायसँग समन्वय गरी छिटो समाधान गर्ने अभ्यासलाई परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ ।
गत चैत १५ गतेयता हटलाइन तथा अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । अधिकांश गुनासो विद्युत् सेवा अवरोध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, पोल तथा तार व्यवस्थापन, मिटर समस्या र इभी चार्जिङलगायत विषयसँग सम्बन्धित रहेका छन् । मन्त्रालयले लिखित निवेदन र सञ्चारमाध्यममा आएका जनसरोकारका विषयलाई समेत निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको जनाएको छ ।
कतिपय घटनामा मन्त्रालयले प्रत्यक्ष सक्रियता पनि देखाएको छ । बाँकेको चिसापानी क्षेत्रमा प्रसारण लाइनका टावर ढल्दा प्रभावित विद्युत् सेवा पुनः सञ्चालन गर्न समन्वय गरिएको थियो भने स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रमा चट्याङका कारण अवरुद्ध विद्युत् सेवा ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो । त्यस्तै, काठमाडौँको स्वयम्भू क्षेत्रमा सडकबीचमा रहेका पोल स्थानान्तरणको समस्या पनि समन्वयमार्फत समाधान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अपनाएको यो अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने र सेवाग्राहीमा सरकारप्रति भरोसा बढाउने अपेक्षा गरिएको छ ।