काठमाडौँ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन्। जेठ ३ गतेका अवसरमा सन्देश जारी गर्दै उनले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया र विश्वास जुटाउँदै यसलाई सफलताको उचाइमा पुर्याउन अभूतपूर्व योगदान दिएको उल्लेख गरिन्।
भण्डारीले मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्ग प्रशस्त गरेको बताइन्। उनले जबजकै कारण नेकपा एमाले जनताको भरोसायोग्य शक्तिका रूपमा स्थापित भएको दाबी गरिन्।
वर्तमान चुनौतीहरू सामना गर्न सुदृढ संगठनात्मक एकता र कार्यकर्ताको समर्पण आवश्यक रहेको भन्दै उनले जनअपेक्षा अनुसार पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिइन्। "जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो," उनले सन्देशमा उल्लेख गरेकी छन्।