काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्दै पश्चिम एसियामा शान्ति स्थापना गर्न भारत हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन्।
मोदीको पाँच देशीय भ्रमणअन्तर्गत यूएई पहिलो गन्तव्य बनेको हो। अबुधाबी विमानस्थलमा उनलाई राष्ट्रपति अल नाह्यान स्वयं उपस्थित भएर स्वागत गरेका थिए। विशेष सम्मानस्वरूप यूएईका सैन्य लडाकु विमानहरूले मोदीको विमानलाई सुरक्षा घेरामा उडाएका थिए भने उनलाई सम्मान गारद पनि प्रदान गरिएको थियो।
भेटका क्रममा मोदीले यूएईमाथि भएका आक्रमणको निन्दा गर्दै यस्तो कदम स्वीकार्य नभएको बताएका छन्। उनले तनावपूर्ण परिस्थितिमा पनि यूएईले देखाएको संयमको प्रशंसा गरे। साथै, होर्मुज जलडमरूमध्यमार्फत जहाजहरूको सुरक्षित र निर्वाध आवतजावत क्षेत्रीय शान्ति, ऊर्जा सुरक्षा र खाद्य सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको भारतको धारणा उनले व्यक्त गरे।
दुवै नेताबीच रणनीतिक रक्षा साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअन्तर्गत उन्नत रक्षा प्रविधिको संयुक्त विकास, सह–उत्पादन, गुप्तचर सूचना आदानप्रदान, आतंकवादविरुद्ध सहकार्य, साइबर सुरक्षा, समुद्री सुरक्षा, सैन्य तालिम तथा संयुक्त अभ्यासलाई थप मजबुत बनाइनेछ।
भारत र यूएईबीच रणनीतिक पेट्रोलियम भण्डारणसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। यसले क्षेत्रीय तनाव वा आपूर्ति अवरोधका बेला भारतको ऊर्जा सुरक्षालाई मजबुत बनाउने विश्वास गरिएको छ। हाल अबुधाबी राष्ट्रिय तेल कम्पनी भारतको भूमिगत भण्डारणमा तेल राख्ने एक मात्र विदेशी कम्पनी हो। नयाँ सम्झौताअनुसार भारतको रणनीतिक तेल भण्डारण क्षमता करिब ५ दशमलव ५ मिलियन ब्यारेलबाट बढाएर ३० मिलियन ब्यारेलसम्म पुर्याउने योजना रहेको बताइएको छ।
त्यसैगरी, एलपीजी आपूर्तिमा पनि महत्वपूर्ण सम्झौता भएको छ। भारतीय तेल निगम र अबुधाबी राष्ट्रिय तेल कम्पनीबीच भएको सहमतिअनुसार यूएईबाट प्राथमिकताका आधारमा एलपीजी आपूर्ति सुनिश्चित गरिनेछ। भारतको घरेलु एलपीजी आवश्यकताको करिब ४० प्रतिशत हिस्सा यूएईबाट आपूर्ति हुँदै आएको छ।
दुवै देशले एलएनजी र एलपीजीका लागि नयाँ रणनीतिक भण्डारण निर्माण, दीर्घकालीन ऊर्जा आपूर्ति व्यवस्थापन तथा गुजरातको वाडिनारमा जहाज मर्मत केन्द्र निर्माणमा पनि सहकार्य गर्ने भएका छन्।
भ्रमणका क्रममा यूएईका विभिन्न संस्थाहरूले भारतमा पाँच अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्। इमिरेट्स राष्ट्रिय बैंक दुबईले भारतको आरबीएल बैंकमा तीन अर्ब डलर लगानी गर्नेछ भने अबुधाबी लगानी प्राधिकरणले भारतको पूर्वाधार क्षेत्रमा एक अर्ब डलर लगानी गर्ने जनाएको छ। साथै अन्तर्राष्ट्रिय होल्डिङ कम्पनीले भारतको सम्मान क्यापिटलमा एक अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरिएको छ।
विश्लेषकहरूका अनुसार यी सम्झौताले भारत र यूएईबीचको रणनीतिक, आर्थिक तथा ऊर्जा साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।