काठमाडौँ
नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टी केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त निर्णयले पार्टीको बृहत्तर एकता गर्ने उद्देश्यमा ठेस पुगेको बताएका छन्।
विशेष महाधिवेशनबाट गठित कार्यसमितिको विस्तारका क्रममा वैशाख २८ गते गरिएको मनोनयनबारे आफूलाई कुनै छलफल वा परामर्श नभएको खड्काले स्पष्ट पारेका छन्। उनले यस विषयमा आफूलाई जानकारीसमेत नदिइएको बताएका छन्।
खड्काले मुलुकको राष्ट्रियता संवेदनशील अवस्थामा रहेको र लोकतान्त्रिक मूल्यहरूमा चुनौती आइरहेका बेला पार्टीभित्र विभाजन हुनु घातक हुने चेतावनी दिएका छन्। उनले व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर भावनात्मक एकता आवश्यक रहेको बताएका छन्।
उनले केही समयअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटमा पार्टीलाई पूर्ण एकताबद्ध बनाउन आग्रह गरेको स्मरण पनि गरेका छन्। उनका अनुसार बृहत् एकता बिना कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्दैन।
खड्काले विगतमा पार्टी विभाजनका कारण कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको भन्दै शीर्ष नेताहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। उनले हालको परिस्थितिमा एकता नै पार्टीको प्रमुख आवश्यकता भएको बताएका छन्।