काठमाडौँअमेरिकी पप गायिका दुआ लिपाले दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङविरुद्ध १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकी छन्।
उनले अनुमति बिना आफ्नो तस्बिर टेलिभिजनको प्याकेजिङमा प्रयोग गरिएको आरोप लगाएकी हुन्।
क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको मुद्दा अनुसार सामसङले अमेरिकाभर बिक्री गरिएका विभिन्न टेलिभिजन मोडलका बक्समा दुआ लिपाको तस्बिर प्रयोग गरेको थियो। उक्त तस्बिरले कम्पनीको उत्पादन प्रचार र बिक्री बढाउन मद्दत गरेको दाबी गरिएको छ।
मुद्दामा कपिराइट उल्लङ्घन, ट्रेडमार्क उल्लङ्घन तथा दुआ लिपाको पहिचान र छविको दुरुपयोग गरिएको आरोप समावेश गरिएको छ। कानुनी दस्तावेजअनुसार उक्त तस्बिर सन् २०२४ मा आयोजित ‘अस्टिन सिटी लिमिट्स’ कार्यक्रममा खिचिएको थियो र त्यसको कपिराइट दुआ लिपाकै स्वामित्वमा रहेको उल्लेख गरिएको छ।
दुआ लिपाले सन् २०२५ जुनमा मात्रै आफ्नो तस्बिर सामसङका टिभी बक्समा प्रयोग भएको थाहा पाएको बताइएको छ। त्यसपछि सामाजिक सञ्जालमा ‘दुआ लिपा टिभी बक्स’ भन्दै पोस्टहरू भाइरल हुन थालेका थिए।
उनको कानुनी टोलीका अनुसार सामसङलाई पटक–पटक तस्बिर हटाउन आग्रह गरिए पनि कम्पनीले बेवास्ता गरेको थियो। दुआ लिपाले यसअघि प्युमा, भर्साचे, एप्पल र शनेलजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरिसकेकी छन्।