हुम्ला।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ। यात्रु तथा स्थानीयवासीको समस्यालाई सम्बोधन गर्दै एयरलाइन्सले उडान संख्या बढाउने निर्णय गरेको हो।
थपिएको उडानसँगै अब नेपाल एयरलाइन्सले हप्तामा नेपालगन्ज–सुर्खेत–सिमकोट रुटमा चार वटा उडान भर्ने छिरिङ लामाले जानकारी दिनुभयो। यसअघि सोही रुटमा हप्तामा तीन वटा मात्र उडान हुँदै आएका थिए। हवाई यातायातमा समस्या भोग्दै आएका हुम्लावासीको मागलाई मध्यनजर गर्दै उडान संख्या बढाइएको र नयाँ उडान तालिका वैशाख २६ गतेदेखि नै लागू भइसकेको छ।
नयाँ तालिकाअनुसार सिमकोट–सुर्खेत र सिमकोट–नेपालगञ्जरुटमा सोमबार, बुधबार र शुक्रबार नियमित उडान हुनेछन्। यससँगै अब हप्तामा कुल चार वटा उडान सञ्चालन हुने एयरलाइन्सले जनाएको छ। निगमले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, १२ वर्षमुनिका बालबालिका तथा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ।
यद्यपि, हवाई भाडामा भने केही वृद्धि गरिएको छ। नेपाल एयरलाइन्सले नियमित उडानका लागि प्रति यात्रु १८ हजार रुपैयाँ टिकट दर कायम गरेको जानकारी दिएको छ।