काठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जेठ मसान्तभित्र एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टीले संगठनात्मक एकता पूरा गरेपछि संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने जनाएको छ।
नेकपाको अन्तरपार्टी निर्देशन (अपानी)–३ अनुसार पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि विशेष पहल गरिने उल्लेख छ। साथै आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरिएको छ।
अपानीमा वर्तमान राजनीतिक परिस्थितिमा जनतासँग घनिष्ट सम्बन्ध राख्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि वैचारिक, राजनीतिक, संगठनात्मक तथा सांस्कृतिक स्पष्टतासहित महाधिवेशन सम्पन्न गरिने उल्लेख गरिएको छ।
पार्टीले वडा तहदेखि केन्द्रसम्मका सबै निर्वाचित समितिहरू समावेशी सिद्धान्तअनुसार गठन गर्ने जनाएको छ। समितिहरूमा पाका, अनुभवी र युवाको सन्तुलित सहभागिता सुनिश्चित गर्दै युवा तथा नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य राखिएको छ।
त्यस्तै, समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि विशेष पहल गर्ने निर्णय पनि गरिएको छ।
चैत १९ गतेदेखि सुरु भएको नेकपाको संयोजन समिति बैठक वैशाख १५ गते सम्पन्न भएको थियो। बैठकका निर्णयहरूमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। यद्यपि उक्त निर्णयहरू अझै पार्टी समितिमा औपचारिक रूपमा परिपत्र भइनसकेको नेताहरूले बताएका छन्।