काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सोमबार उनीविरुद्ध आरोपपत्र दायर गरेको हो।
रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतको तहसिल शाखामा कार्यरत सिंहले अदालतको फैसलाअनुसार जग्गा फुकुवा र नामसारी गरिदिने काममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा उनले विभिन्न बहानामा सेवाग्राहीलाई हैरानी दिँदै मोलमोलाइ गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर प्रमाणित भएपछि आयोगले ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।