काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बैठकमा उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्नै नपाई रोकिएको हो।
समितिका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यस समितिको कार्यक्षेत्रभित्र पर्छन्। परम्पराअनुसार मन्त्रीको अनुपस्थितिमा समिति बैठक नबस्ने भएकाले बैठक स्थगित गरिएको समिति सचिव सहसचिव कान्छा दुलालले जानकारी दिए।
दुलालका अनुसार प्रधानमन्त्री स्वयंले गृह र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् भने सामान्य प्रशासन मन्त्री अन्य कार्यक्रममा व्यस्त रहेकाले बैठक सञ्चालन सम्भव भएन। “मन्त्री नभई बैठक नबस्ने परम्परा छ, त्यसैले स्थगित गरिएको हो,” उनले भने।
उक्त बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची तय गरिएको थियो। समितिको सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ।