काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ। अब सदस्यता वितरण र नवीकरणको सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत हुने भएको छ।
आइतबार केन्द्रीय कार्यालयमा आयोजित विशेष बैठकमा संगठन विभागले नयाँ डिजिटल प्रणालीको प्रस्तुति गरेको थियो। बैठकमा पार्टीका उपाध्यक्ष, महासचिवसहित शीर्ष नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई अनुशासित र प्रभावकारी बनाउन सहयोग गर्ने बताएका छन्। उनले प्रत्येक सदस्यको अभिलेख स्पष्ट र पारदर्शी बनाउन डिजिटल प्रणाली आवश्यक रहेको उल्लेख गरे।
संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानु भक्त ढकालका अनुसार केन्द्रदेखि वडा तहसम्मको अभिलेख एकीकृत डिजिटल प्रणालीमा आबद्ध गरिनेछ। यसपछि सातै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका सदस्यहरूको विवरण एक क्लिकमै हेर्न सकिनेछ।
नयाँ कार्ययोजना अनुसार सबै तहका नेता तथा कार्यकर्ताको व्यक्तिगत विवरण पनि अनलाइनमा अभिलेखीकरण गरिनेछ। यसअघि नै जेठ मसान्तसम्म सदस्यता नवीकरण गर्ने समयसीमा तोक्ने प्रस्ताव गरिएको छ।
ढकालका अनुसार तोकिएको समयभित्र अनलाइनमार्फत सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः पार्टीको जिम्मेवारीबाट मुक्त हुनेछन्। यसले पार्टीभित्रको नक्कली सदस्यता र अभिलेखसम्बन्धी समस्याको अन्त्य गर्ने विश्वास लिइएको छ।