काठमाडौँ
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रता अझै जोखिममा रहेको र यसको संरक्षणका लागि निरन्तर संघर्ष आवश्यक पर्नेमा जोड दिए।
अध्यक्ष मिश्रले प्रेस स्वतन्त्रता पूर्वजहरूको बलिदानबाट प्राप्त उपलब्धि भएको स्मरण गराउँदै यसलाई संविधानमा सीमित नगरी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घले उठाएका मुद्दाप्रति बार एसोसिएसनको पूर्ण समर्थन रहेको उल्लेख गर्दै उनले विज्ञापन नियन्त्रण वा न्यूनतम सुविधा कटौतीजस्ता माध्यमबाट प्रेसलाई अप्रत्यक्ष रूपमा दबाब दिने प्रयासप्रति सजग रहनुपर्ने धारणा राखे।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले दुई तिहाइ नजिकको बहुमत भएको सरकारले संसद्को विश्वास लिनुको सट्टा अध्यादेशको सहारा लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए। जनताको असन्तुष्टि राजनीतिक दलको अस्तित्वभन्दा पनि उनीहरूको कार्यपद्धतिप्रति केन्द्रित रहेको स्पष्ट पार्दै उनले यही आक्रोशलाई आधार बनाएर एकतन्त्रीय शासनतर्फ जाने सोच गलत हुने तर्क गरे।
सुकुमबासी समस्या र पछिल्ला ‘डोजर’ अभियानप्रति लक्षित गर्दै मिश्रले अदालत बिदा रहेको समयमा मानवीय संवेदनशीलता बेवास्ता गर्दै बासिन्दालाई विस्थापित गर्नु संविधानप्रदत्त आवासको हकविपरीत भएको बताए। उनले राष्ट्रिय मानवअधिकार आयोगलाई सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।
मानव अधिकारको संरक्षण र दोषी पहिचानका लागि नागरिक समाजले एकीकृत रूपमा कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले प्रेस र कानुन व्यवसायीबीचको सहकार्यले मात्र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे। साथै पत्रकारहरूलाई आवश्यक कानुनी सहयोग प्रदान गर्न बार एसोसिएसन सधैँ तयार रहने प्रतिबद्धता पनि जनाए।