काठमाडौँ
तनहुँ जलविद्युत् आयोजनामा हालसम्म करिब ७५ प्रतिशत प्रगति भएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाका तीनवटै प्याकेजअन्तर्गत काम तीव्र रूपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज १ अन्तर्गत बाँध तथा हेडवर्क्स संरचनाको काम भइरहेको छ, जसमा हालसम्म ५७ प्रतिशत प्रगति भएको छ। सोङ्दा कालिका जेभीले जिम्मा लिएको यस प्याकेजअन्तर्गत पहुँच सडक, डाँडा कटान, सेती नदीको धार परिवर्तनका लागि अस्थायी बाँध र डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेको छ। मुख्य बाँध निर्माणका लागि आवश्यक पूर्वाधार तयार भएसँगै कङ्क्रिटिङ तथा ग्राउटिङ कार्य जारी छ।
प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित संरचना निर्माणको काम सिनोहाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजमा ७६ प्रतिशत प्रगति भएको छ। भूमिगत संरचनाहरूको खन्ने काम सम्पन्न भइसकेको र अधिकांश सिभिल निर्माण सकिएको छ। विद्युत्गृह, केवल सुरुङ, सर्ज ट्याङ्क र टेलरेस संरचनामा कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ भने मुख्य सुरुङमा कङ्क्रिट लाइनिङ अन्तिम चरणमा पुगेको छ।
प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम केईसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ। ३३ किलोमिटर लम्बाइको प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटाको जग निर्माण सम्पन्न भइसकेको छ। यस प्याकेजमा ७७ प्रतिशत प्रगति भएको जनाइएको छ। प्रसारण लाइन मार्गाधिकार क्षेत्रमा पर्ने वनका रूख हटाउने कार्यसमेत सम्बन्धित निकायसँग समन्वय गरी अगाडि बढाइएको छ।
आयोजनाको कुल लागत करिब ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ। वित्तीय व्यवस्थापनअन्तर्गत एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, युरोपेली लगानी बैंक तथा नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ।