काठमाडौँ
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमार्फत करिब ७० खर्ब रुपैयाँ बराबरको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वदेशी, प्रवासी र विदेशी स्रोत एकसाथ परिचालन गरेर पुँजी निर्माण गरिने स्पष्ट पारे।
उनले बजेटलाई धेरैजसोले जटिल रूपमा बुझ्ने गरेको भन्दै त्यसलाई सरल बनाउनुपर्ने आवश्यकता औँल्याए। बजेट भनेको सरकारको एक वर्षको आय–व्ययको योजना भएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रमका कारण यसको महत्त्व अझै बढ्ने बताए।
अर्थतन्त्रको वर्तमान अवस्था उल्लेख गर्दै मन्त्री वाग्लेले सार्वजनिक वित्तीय दायरा सीमित रहेको बताए। अनिवार्य खर्च उच्च भए पनि राजस्व पर्याप्त नहुँदा ऋण तथा बाह्य स्रोतमा निर्भरता बढेको उनले बताए। आगामी वर्ष अर्थतन्त्रको आकार ७३–७४ खर्ब पुग्ने अनुमान गरिएको छ।
उनका अनुसार सीमित सार्वजनिक लगानीले ठूलो अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने भएकाले खर्चको प्रभावकारिता बढाउनुपर्नेछ। निष्प्रभावी आयोजना हटाउने र प्राथमिकता पुनः निर्धारण गर्ने काम भइरहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धिदर ५ देखि ७ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको जानकारी दिए। साथै, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउँदै रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक सुरक्षामा जोड दिइने बताए।
कर प्रणाली सुधारलाई पनि प्राथमिकता दिइएको उल्लेख गर्दै उनले करका दरलाई सरल र वैज्ञानिक बनाउन आवश्यक रहेको बताए। विदेशी अनुदान घट्दै गएको सन्दर्भमा वैकल्पिक वित्तीय साधन र निजी क्षेत्रको सहभागिता बढाउने योजना रहेको उनको भनाइ छ।
उनले सुशासन कायम गर्न सरकार ‘जिरो टोलरेन्स’ नीतिमा अघि बढिरहेको बताउँदै अपराध गर्ने र इमानदार व्यवसायीबीच स्पष्ट भिन्नता गर्नुपर्ने बताए। समग्रमा स्वदेशी, प्रवासी र विदेशी लगानी परिचालन गरेर दिगो आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।