काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले श्रमिकको सम्मान भएको समाज मात्रै समृद्ध बन्न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले श्रमको मूल्य, मर्यादा र अधिकारका लागि भएको सङ्घर्षले विश्वलाई महत्वपूर्ण सन्देश दिएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले नेपालको संविधानले न्यायपूर्ण राज्य निर्माणका लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीच सन्तुलन कायम गर्ने निर्देशक सिद्धान्त अवलम्बन गरेको बताएका छन्। उनले आफू सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीच त्रिपक्षीय सहकार्यको आधारमा सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिएको स्मरण गरे।
उनले मानव गरिमाको रक्षा गर्दै श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न विश्वव्यापी अधिकारको प्रत्याभूति आवश्यक रहेको बताए। उद्योग सञ्चालन, रोजगारी वृद्धि, श्रमिकको सुरक्षा र नाफाको न्यायोचित वितरणमार्फत देश समृद्ध बनाउने लक्ष्य राखिएको उनको भनाइ छ।
संविधानले निर्धारण गरेको सन्तुलन र सहकार्यको बाटोबाट राज्य विचलित हुनु नहुनेमा उनले जोड दिएका छन्।