काठमाडौँ
सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
कालोसूचीमा पर्ने कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सन रहेका छन्। यी छ वटा कम्पनीलाई एक वर्षका लागि प्रतिबन्ध लगाइएको हो।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको सिफारिसका आधारमा इटालीको ‘एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट’ लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्का वा सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कार्यालयले सम्बन्धित निकायको सिफारिसपछि आवश्यक कारबाही अघि बढाएको जनाएको छ।