काठमाडौँ
परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेको एक महिना पूरा गरेका छन्। चैत १३ गते नियुक्त भएका उनले सुरुवातमै कन्सुलर सेवा विभागको अनलाइन प्रणाली विस्तार गर्ने निर्णय गर्दै सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने लक्ष्य अघि सारेका थिए।
एक महिनाको अवधिमा मन्त्री खनालले भारत, चीन, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम, जापानलगायत २० भन्दा बढी देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्। ती भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, लगानी विस्तार, श्रम आप्रवासन, पर्यटन, जलवायु परिवर्तन र विकास सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी खाडी मुलुकहरूसँग श्रमिकको हित र लगानी प्रवर्द्धनका विषयमा जोड दिइएको छ।
यस अवधिमा उनले पहिलो विदेश भ्रमणका रूपमा मरिससमा आयोजित हिन्द महासागर सम्मेलनमा सहभागिता जनाएका थिए। सो क्रममा भारतका विदेशमन्त्रीसँग भेटवार्ता हुनुका साथै अन्य देशका समकक्षीसँग पनि छलफल भएको थियो।
यद्यपि, इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइबारे दिएको जानकारीपछि मन्त्री खनाल विवादमा तानिएका थिए। उनले सामाजिक सञ्जालमार्फत झा रिहा भएको बताएका थिए, तर परिवारले त्यसलाई अस्वीकार गरेपछि विषय विवादित बनेको हो। पछि परराष्ट्र मन्त्रालयले झाको रिहाइ प्रक्रिया जारी रहेको स्पष्ट पारेको थियो।
यसैबीच, मन्त्री खनालले विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल छलफल गर्दै सेवा प्रवाह सुधार, नागरिक सुरक्षाका उपाय र आर्थिक कूटनीति सुदृढीकरणमा जोड दिएका छन्। साथै, सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा पश्चिम एसियाको अवस्थाबारे जानकारी गराउँदै नेपाल सरकारले शान्तिपूर्ण समाधानको पक्षमा रहेको धारणा दोहोर्याएका छन्।
उनले गैरआवासीय नेपाली ऐनको मस्यौदामाथि एनआरएनएसँग छलफल गर्दै आगामी संसद् सत्रमा प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिएका छन्। समग्रमा सुशासन, डिजिटल सेवा विस्तार र परिणाममुखी कूटनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने लक्ष्य उनले व्यक्त गरेका छन्।