काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सरकारले गरेको व्यवहार अमानवीय र असंवेदनशील भएको भन्दै कडा आपत्ति जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा एमालेले सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी प्रयास तत्काल रोक्न माग गरेको छ। बल प्रयोग, राज्यको धम्की र संवादविहीन निर्णयहरू कानुनी तथा मानवीय दृष्टिले गलत भएको पार्टीको भनाइ छ।
एमालेले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत लगत सङ्कलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अघि बढाइएको विषय स्मरण गराएको छ।
विज्ञप्तिमा विकल्पबिना सुकुम्बासी हटाउने कदम संविधानद्वारा प्रत्याभूत मौलिक हक र अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन हुने उल्लेख गरिएको छ।
पार्टीले सुकुम्बासी समस्या सामाजिक तथा आर्थिक विषय भएकाले बल प्रयोग होइन, संवाद र वैज्ञानिक भूमि सुधारमार्फत समाधान गर्नुपर्ने सुझाव दिएको छ।
एमालेले तीनै तहका सरकारबीच समन्वय गरी मानवीय र न्यायोचित समाधान खोज्न र प्रभावित समुदायसँग संवाद गर्दै दीर्घकालीन समाधान अघि बढाउन सरकारसँग माग गरेको छ।
