काठमाडौँ
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति आपत्ति जनाएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सीमा व्यवस्थापनका नाममा सर्वसाधारणलाई अनावश्यक सास्ती दिइएको आरोप लगाए।
ठाकुरले नेपाल–भारतबीचको खुला सीमा र सदियौँदेखिको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई सुरक्षा वा भन्सार नियन्त्रणको नाममा प्रभावित पार्न नहुने बताए। उनका अनुसार मधेस र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी पारिपट्टिका बजारसँग प्रत्यक्ष रूपमा जोडिएको छ, तर कडा जाँचका कारण उनीहरूलाई दैनिक जीवनमा कठिनाइ भइरहेको छ।
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीबाट सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। आवश्यक चेकजाँच गर्नुपर्ने भए पनि त्यसको नाममा जनतालाई दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ थियो।
ठाकुरले सरकारले तत्काल सीमा क्षेत्रमा सर्वसाधारणलाई भइरहेको सास्ती रोक्न र सहज आवतजावतको व्यवस्था गर्नुपर्ने माग गरे। साथै आगामी आर्थिक वर्षको बजेटमा मधेस क्षेत्रलाई उपेक्षा नगर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।