काठमाडौँ
ढोरपाटन नगरपालिकाका विभिन्न वडामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। गत फागुन ८ गतेदेखि वडा नं. ७, ८ र ९ मा देखिएको सङ्क्रमण स्वास्थ्यकर्मीको सक्रियता र खोप अभियानपछि नियन्त्रणतर्फ गएको हो।
विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय तथा स्थानीय स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेपछि खोप अभियान सञ्चालन गरिएको थियो। फागुन २९ देखि चैत २ गतेसम्म सञ्चालन गरिएको अभियानमा बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानपछि दैनिक देखिने शङ्कास्पद दादुरा बिरामीको संख्या घट्दै गएको छ। सुरुमा दैनिक १० देखि १५ जनासम्म बिरामी अस्पताल आउने गरे पनि पछिल्लो समय बिरामीको संख्या उल्लेख्य रूपमा घटेको जनाइएको छ।
हालसम्म २३९ जना शङ्कास्पद बिरामी देखिएकामा ३४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा दादुरा पुष्टि भएको थियो। त्यसैगरी, १० देखि १९ वर्ष उमेर समूहका ६ हजार १४० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अधिकांश बिरामी निको भइसकेका छन् भने एक जना शङ्कास्पद बिरामी मात्र हाल उपचारमा रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीहरूले खोप अभियान प्रभावकारी बनेसँगै सङ्क्रमण नियन्त्रणमा आएको बताएका छन्।