काठमाडौँ
बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा लापरबाही भएको भन्दै एक गर्भवती महिलाको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनापछि मृतकका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन प्रक्रियाका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि मृत्यु भएको हो। उनी करिब १२ हप्ताको गर्भ रहेकी थिइन्।
आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन्। पीडित परिवारका अनुसार प्रारम्भिक जाँचपछि विभिन्न क्लिनिकमा पठाइँदै असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको थियो, जसका कारण उनको अवस्था गम्भीर बनेको दाबी गरिएको छ।
उनीलाई अन्ततः लुम्बिनी सिटी अस्पताल लगिएको भए पनि अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले क्लिनिकहरूको लापरबाही र गैरजिम्मेवार व्यवहारका कारण ज्यान गएको आरोप लगाएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ।
प्रहरीले जाहेरी परेका अन्य दुई जनाविरुद्ध पनि अनुसन्धान जारी राख्दै पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र पोस्टमार्टम तथा बयानका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।