काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गृहमन्त्री सुदन गुरुङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकी छन्। उनले गृहमन्त्रीले आफूमाथि लागेका गम्भीर आरोपबारे सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउँदै यस्तो माग गरेकी हुन्।
सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद ओलीले गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले गम्भीर आरोपहरूको जवाफ सामाजिक सञ्जालबाट दिनु विधिसम्मत प्रक्रिया र संस्थागत मर्यादाविपरीत भएको टिप्पणी गरिन्। उनले यस्तो अभ्यासले राज्य संयन्त्रप्रतिको विश्वासमा असर पर्ने बताइन्।
ओलीले सामाजिक सञ्जालमा लेख्दै निर्दोष प्रमाणित हुने परिपाटी बसालिएमा भविष्यमा गम्भीर आपराधिक अभियोग लागेका व्यक्तिहरूले पनि यही तरिका अपनाउन सक्ने भन्दै प्रश्न उठाएकी छन्। उनले यसलाई व्यक्तिगत अभिव्यक्तिभन्दा पनि संस्थागत विश्वसनीयतासँग जोडिएको विषय भएको उल्लेख गरिन्।
कानुनी सिद्धान्तअनुसार आफ्नो मुद्दामा आफैँ न्यायाधीश हुन नसकिने भन्दै सांसद ओलीले पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्रीले पदबाट अलग भएर स्वतन्त्र छानबिनको सामना गर्नुपर्ने धारणा राखिन्। उनले निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने बताइन्।
त्यस्तै, गृहमन्त्रीले पार्टीको निर्णय पालना गर्ने बताएका सन्दर्भमा ओलीले राज्य सञ्चालन पार्टीको होइन, आधिकारिक संयन्त्रको निर्णयअनुसार हुनुपर्ने भन्दै टिप्पणी गरिन्। उनले अनुसन्धान प्रक्रिया प्रभावित नहोस् भन्नका लागि गृहमन्त्री पदबाट अलग हुनु आवश्यक रहेकोमा जोड दिएकी छन्।