काठमाडौँ
संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ लेखिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही गरिएको छ।
अध्यागमन विभागले प्रचलित कानुन र विभागीय निर्णयविपरीत कार्य गरेको भन्दै ती दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन। सो घटनापछि विभागले थप छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा उल्लेख गरिएको भेटिएपछि विवाद बाहिर आएको थियो। त्यसपछि विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेका छन्। उनले नियमविपरीत कार्य गर्ने कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाइएको र थप अनुसन्धान भइरहेको जानकारी दिए।
विभागले सबै कर्मचारीलाई प्रचलित ऐन, नियम र निर्देशनअनुसार मात्र कार्य गर्न सचेत गराउँदै गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाही गरिने चेतावनी समेत दिएको छ।
